“रुद्रप्रिया” ले तोड्यो शीतयुद्ध

वैशाख २८, २०७४- पछिल्लो फिल्म ‘कसले चोर्‍यो मेरो मन’ मा देखिएका नायक आर्यन सिग्देल र नायिका रेखा थापाको जोडीलाई दर्शकले खुबै रुचाए । तर त्यसपछि भने यिनै दुईले एकअर्कालाई रुचाउन छोडे । एकअर्काबीच शीतयुद्ध नै चल्यो । जब कि अवार्ड कार्यक्रमदेखि लिएर सार्वजनिक ठाउँमै एकले अर्काप्रति कटाक्ष हान्न बाँकी राखेनन् । त्यसो त आर्यनलाई रेखाले नै ब्रेक दिएकी थिइन्, फिल्म ‘किस्मत’ बाट । 
पछि ‘हिफाजत’ मा पनि जोडी दोहोरिएको थियो ।

झन्डै ६ वर्षपछि दुवैले शीतयुद्ध तोडेनन् मात्रै, एकसाथ फिल्म पनि खेल्ने भएका छन् । रेखाले होम प्रोडक्सनमा यसपटक आर्यनलाई आफूसँग स्क्रिन सेयर गराउन सफल भएकी छन् । रमेश एमके पौडेलसँग निर्माण सहकार्यमा रेखाले बनाउन लागेको ‘रुद्रप्रिया’ मा आर्यन र रेखा मुख्य जोडीका रूपमा हुने पक्का भएको छ । बुधबार आर्यन फिल्म खेल्न सहमत भएका हुन् । सम्झौता पत्र बुझेपछि दुवैले एकअर्कालाई अंकमाल गरेर पुरानो मायालाई पुन: ताजा गराए ।

‘कुनै दिन स्क्रिप्टले बोलायो भने म रेखासँग काम गर्छु नै भन्थें,’ आर्यनले आफ्नो रेखासँग पर्सनल्ली दुश्मनी कहिल्यै नरहेको उल्लेख गर्दै कान्तिपुरसँग भने, ‘अरूले सोचेजस्तो झगडै भए पनि अहिले स्क्रिप्टले बोलायो । क्यारेक्टरसँग त झगडा गरेको छैन नि । राम्रो प्रोजेक्ट त हामीलाई खेल्न चाहिन्छ, दर्शकलाई पनि हेर्न चाहिन्छ । राम्रो प्रोजेक्टले एकै ठाउँ ल्यायो ।’
‘रुद्रप्रिया’ का निर्देशकसमेत रहने सुदीप बबी भूपाल सिंहले स्क्रिप्ट लेख्दा नै आर्यनलाई दिमागमा सोचेका थिए रे । त्यसैले पनि त्यसलाई साकार पार्न निर्माता रमेश लागिपरे र सफल पनि भए ।

‘फस्ट च्वाइस नै आर्यन थियो,’ रेखाले भनिन्, ‘पहिलेदेखि नै आर्यन नै थियो, रुद्रको भूमिकामा । 
उसको व्यस्तताका कारणले विकल्प खोजेका थियौं । आर्यनलाई सोचेर हामी अघि बढ्न चाहन्थ्यौं, अन्तत: उही नै भयो ।’
यसअघि पनि निर्देशक सिंहसँग ‘माला’ फिल्ममा सहकार्य गरेका आर्यनले पनि उनीसँगको कामले प्रभावित भएको बताउँदै भने, ‘दुइटा प्रोजेक्ट फ्लोरमा जानेवाला थियो । म व्यस्त थिएँ । त्यसैले पनि निर्देशकलाई नभ्याउने भनिदिएको थिएँ । तर यति बेला त्यो प्रोजेक्ट ढिला हुने देखिएपछि ‘रुद्रप्रिया’ खेल्न मौका मिल्यो ।’

निर्देशक सिंहले फिल्म ‘लार्जर दयान लाइफ’ को कन्सेप्टका ठीक विपरीत रहेर अति जीवन नजिक रहेर ‘रुद्रप्रिया’ बनाउन लागेको उल्लेख गरे । जसमा आर्यनको चरित्र अति सामान्य शैलीको रहेको बताए । भने, ‘आर्यन एकदमै मीठो चरित्रमा देखिनेछन् । जसलाई दर्शकले पनि स्विकार्ने विश्वास छ ।’

त्यसो त फिल्ममा तीन पात्रको मुख्य भूमिका रहे पनि बाँकी कलाकारको टुंगो छिट्टै लाग्ने बताइएको छ । यसअघि रेखाले सुदर्शन थापालाई रुद्रको भूमिकामा अनुबन्ध गरेकी थिइन् भने अर्पण थापा सहायक चरित्रमा थिए । तर फिल्म फ्लोरमा जान ढिलो भएपछि कलाकारको हेरफेर भएको हो । 

पछिल्लो समय आर्यनसँग भेटघाट हराएपछि रेखालाई आठ जुनी काटेको जस्तो भयो रे । आर्यनले भने, ‘मुख्य त हामीबीच बोलचाल हुन पाएन । म पनि आफ्नो काममा व्यस्त भएँ । उनी पनि आफ्नो काममा व्यस्त ।’

अनि रेखालाई आर्यनको अभाव महसुस कत्तिको भयो त ? रेखाले भनिन्, ‘यो प्रश्न त यस्तो भयो कि हामी भयंकर लभमा भएर बिछोडमा परेको जस्तो । हो, कलाकारका हिसाबले हेर्दा हामी सँगै नहुँदा फिल्म क्षेत्रलाई पनि घाटा र दर्शकप्रति पनि हामीले अन्याय गरेका थियौं कि भन्ने चाहिँ लाग्छ, किनभने दर्शकले दुवैजना एउटै फ्रेममा आऊन् भन्ने अत्यधिक चाहेका थिए । कतै हामी कलाकारिताको धर्मभन्दा पर पो गएछौं कि ? हाम्रो सानोतिनो घुक्र्याइँले दर्शकलाई अधर्म पो गर्‍यौं कि भन्ने महसुस मलाई हुन्थ्यो । यसमा हाम्रो गल्ती भएकै हो । अब हाम्रो कारणले आगामी पुस्ताबीच पनि यस्तै झगडालु परिपाटी नहोस् भन्नका लागि पनि यो पुनर्मिलन सुखद हो जस्तो लाग्छ ।’

पछिल्लो समय रेखा र आर्यन दुवैको क्रेज घट्दो क्रममा भएकोले पनि मिलेर जानुको विकल्प नदेखेको पनि अनुमान लाग्न सक्छ । तर आर्यनले यसमा सहमति जनाएनन् । भने, ‘क्रेज भन्ने कहिल्यै पनि घट्ने भन्ने हुँदैन । राम्रो फिल्म बन्यो भने क्रेज बन्ने हो । मैले जति गर्छु, त्यति नै पाउने हो । कोही आएर मलाई असर गर्ने होइन । वृद्ध अवस्थामा पनि मैले जति गर्छु त्यति नै पाउने हो । मेरो लागि म सधैं नम्बर वान नै हुन्छु ।’

आफ्ना फिल्ममा कलाकारका रूपमा हाबी हुँदै आएकी रेखालाई आर्यनको इन्ट्रीले कत्तिको फरक पार्ला ? भनिन्, ‘‘रुद्रप्रिया’ को हिरो आर्यन नै हो । स्टोरी नै पावरफुल छ । ‘कसले चोर्‍यो मेरो मन’ मा दुवैको क्यारेक्टर पावरफुल हो । दुवैले क्रेडिट लगेको हो । कमजोर को–एक्टर हुँदा म हाबी हुने हो । आर्यन त आफैंमा अत्यन्त राम्रो एक्टर हो । ऊ रुद्र हो भने म प्रिया ।’ 

जेठ ४ देखि फ्लोरमा जान लागेको ‘रुद्रप्रिया’ ४० दिनको सेडयुअलमा बन्दीपुर, पोखरा र काठमाडौंमा खिचिनेछ । सञ्जय लामाको सिनेमाटोग्राफी, सुरेश अधिकारीको संगीत रहने फिल्मको पटकथा निर्देशक सिंहले रुबी सेनसँग मिलेर लेखेका हुन् । निर्माणमा रमेश एमकेले रेखा फिल्म्ससँग सहकार्य गरेका हुन् ।

Top